काठमाडौँ । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–९ भीरखर्कका दुई दाजुभाइले विश्वका अग्ला हिमालमध्ये सगरमाथा र लोत्से सफलतापूर्वक आरोहण गर्दै उल्लेखनीय उपलब्धि हासिल गरेका छन् ।
जीवन तामाङले विश्वको सर्वोच्च शिखर सगरमाथा र उनका दाजुभाइ शुभराज तामाङले विश्वको चौथो अग्लो हिमाल लोत्से सफलतापूर्वक आरोहण गरेका हुन् । पारिवारिक स्रोतका अनुसार जीवन तामाङले सन् २०२६ मे २५ तारिख बिहान २ः४० बजे ८ हजार ८४८.८६ मिटर उचाइको सगरमाथा शिखरमा पाइला टेकेका थिए भने शुभराज तामाङले सन् २०२६ मे २७ तारिख बिहान ७ बजे ८ हजार ५१६ मिटर उचाइको लोत्से हिमाल सफलतापूर्वक आरोहण गरेका थिए ।
छोटो अन्तरालमै दुई दाजुभाइले विश्वका अत्यन्तै चुनौतीपूर्ण मानिने सगरमाथा र लोत्से हिमाल आरोहण गरेपछि खिजिदेम्बा गाउँपालिका तथा सम्पूर्ण ओखलढुंगा क्षेत्रमा खुसी र गर्वको वातावरण बनेको छ । दुवै हिमाललाई विश्वकै कठिन पर्वतारोहण गन्तव्यमध्ये मानिन्छ, जहाँ प्रतिकूल मौसम, अक्सिजनको कमी र उच्च जोखिमका बीच आरोहण गर्नुपर्ने हुन्छ । स्थानीयवासीहरूले उनीहरूको सफलतालाई गाउँ र जिल्लाको गौरवसँग जोड्दै आगामी पुस्ताका लागि प्रेरणादायी उपलब्धि भएको बताएका छन् । जीवन तामाङको सगरमाथा र शुभराज तामाङको लोत्से आरोहणले ओखलढुंगाको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा थप चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । यो उपलब्धि व्यक्तिगत मात्र नभई सम्पूर्ण जिल्लाकै गर्वको विषय बनेको छ ।