काठमाडौँ । आज विश्वभर विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्ष मे ३१ मा यो दिवस मनाउने गरिन्छ, जसको उद्देश्य सुर्तीजन्य पदार्थ सेवनबाट हुने स्वास्थ्य जोखिमबारे मानिसलाई सचेत गराउनु हो।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का सदस्य राष्ट्रहरूले सन् १९८७ देखि धुम्रपान तथा सुर्तीजन्य पदार्थका कारण बढ्दो रोग र मृत्युबारे विश्व समुदायको ध्यानाकर्षण गराउन यो दिवस मनाउन थालेका हुन्। डब्लुएचओका अनुसार सुर्तीजन्य पदार्थको प्रयोगका कारण विश्वभर लाखौँ मानिसले ज्यान गुमाइरहेका छन्। सङ्गठनले सन् २०३० सम्ममा यसकै कारण एक करोडभन्दा बढी मानिसको मृत्यु हुन सक्ने अनुमान गरेको छ। विशेषज्ञहरूले सुर्तीजन्य पदार्थको प्रयोगले क्यान्सर, मुटुरोग, फोक्सोसम्बन्धी समस्या लगायत गम्भीर रोग निम्त्याउने भएकाले यसको प्रयोगबाट टाढा रहन आग्रह गर्दै आएका छन्।