काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुकुमवासी, भूमिहीन र अव्यवस्थित बसोवासीको समस्या समाधानका क्रममा राज्यले मानवीय संवेदना र कानुनी प्रक्रिया दुवैलाई ध्यान दिनुपर्ने बताएका छन् ।
पार्टी कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले सुकुमवासी बस्ती हटाउने नाममा घर–टहरा भत्काउने कार्यलाई ‘अमानवीय’ भएको टिप्पणी गरे । थापाले आवास नागरिकको मौलिक हक भएको उल्लेख गर्दै संविधानले समेत आवासको अधिकार सुनिश्चित गरेको स्मरण गराए । उनले भूमिहीन दलितलाई एक पटक जमिन उपलब्ध गराउनु राज्यको दायित्व भएको पनि बताए ।
उनका अनुसार सुकुमवासी तथा अव्यवस्थित बसोबासको समस्या ऐतिहासिक र संरचनागत भएकाले यसको समाधान कानूनी प्रक्रियाभित्र रहेर गर्नुपर्ने आवश्यकता छ । थापाले पछिल्लो समय शहरीकरण र बसाइँसराइका कारण मानिसहरू बाध्य भएर खोला किनार र अव्यवस्थित क्षेत्रमा बसोबास गर्नुपरेको पनि उल्लेख गरे । उनले कतिपय स्थानीय तहहरूले लोकप्रियता बढाउने उद्देश्यले कानुनी प्रक्रिया बेवास्ता गर्दै काम गरिरहेको भन्दै त्यसप्रति असन्तुष्टि जनाए ।