काठमाडौँ । नेपाली कांगेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा बाढीका कारण फेला परेका शवहरूको व्यवस्थापन तथा त्यसबाट फैलिएको दुर्गन्ध गम्भीर चुनौतीका रूपमा देखा परेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालयमा आयोजित बैठकमा बोल्दै उनले प्रभावित क्षेत्रहरूमा दुर्गन्धका कारण भयावह अवस्था सिर्जना भएको जानकारी दिए।
आङ्देम्बेका अनुसार फेला परेका शवहरू व्यवस्थापन गर्दा कतिपय अवस्थामा आफन्तको अनुमति नलिइएको भन्ने विषय गम्भीर रूपमा उठेको छ। भोटेकोशी र त्रिशूली आसपासका क्षेत्रमा शवको दुर्गन्ध नियन्त्रण र उचित व्यवस्थापन गर्नु अहिलेको मुख्य प्राथमिकता र चुनौतीपूर्ण कार्य बनेको उनले स्पष्ट पारे।
यस विषयमा आफूले प्रधानमन्त्रीलाई भेटेरै ९ बुँदे ध्यानाकर्षण पत्र बुझाएको आङ्देम्बेले जानकारी दिए। स्थानीय तहका नेता–कार्यकर्ता र प्रभावित क्षेत्रका बासिन्दासँग टेलिफोनमार्फत प्राप्त विवरणका आधारमा ध्यानाकर्षण गराइएको बताउँदै उनले प्रभावित स्थानहरूमा तत्काल हवाई उद्धारलाई थप प्रभावकारी र तीव्र बनाउन सरकारसँग माग गरेका छन्।
विपद्को यस कठिन घडीमा नेपाली कांगेसले पूर्ण जिम्मेवार भएर राहत र उद्धारमा खटिनुपर्नेमा उनले जोड दिए। बाढीपीडितको माझमा पार्टीको झण्डा बोकेर नभई विशुद्ध सेवाको भावनाका साथ खटिनुपर्ने भन्दै निःस्वार्थ सेवाले नै पार्टीको पहिचान स्थापित गर्ने आङ्देम्बेको भनाइ थियो।