काठमाडौँ । चीन सरकारले नेपालका बाढीपीडितका लागि घोषणा गरेको नगद सहयोग रकम औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। आइतबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरी झन्डै साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर) को चेक हस्तान्तरण गरेका हुन्।
सोही अवसरमा राजदूत माओमिङले चिनियाँ रेडक्रसका तर्फबाट उपलब्ध गराइएको थप ३ करोड ६ लाख रुपैयाँ बराबर (२ लाख अमेरिकी डलर) को नगद सहयोग समेत अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरे।
राहत रकम हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको प्राकृतिक प्रलयका कारण दुवै देशले भोगेको विपत्तिको सामना मिलेर गर्ने प्रतिबद्धता व्यक्त गरे। चीनका राष्ट्रपति र प्रधानमन्त्रीले नेपालको यस कठिन परिस्थितिमा सधैँ साथमा रहने सन्देश पठाएको जानकारी दिँदै उनले चीन सरकारका तर्फबाट पठाइएका अन्य गैर–नगद सहयोगहरू पनि नेपाल आइपुग्न थालेको बताए।
राजदूत माओमिङका अनुसार आइतबार मात्रै चिनियाँ वायुसेनाका दुईवटा जहाजमार्फत ५० टन त्रिपाल, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र खाद्यान्न काठमाडौँ ओरालिएको छ। साथै जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकहरूको उद्धारका लागि चिनियाँ हेलिकप्टर र दक्ष उद्धार प्राविधिकहरूको टोली नेपाल आइसकेको उनले जानकारी गराए। नेपाल सरकारले माग गरे अनुसार ठूलो परिमाणमा सामग्री बोक्न सक्ने विशेष ड्रोनहरू ल्याउने कार्य पनि द्रुत गतिमा भइरहेको चिनियाँ पक्षले जनाएको छ।