काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी तथा पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै उद्धार र तत्काल राहत पु¥याउने काम सरकारको मुख्य प्राथमिकतामा रहेको बताएका छन्। शनिबार नुवाकोटको देवीघाट क्षेत्रको निरीक्षणका क्रममा मन्त्री वाग्लेले देश ठूलो विपद्को सामना गरिरहेकाले यतिवेला नागरिकको ज्यान जोगाउनु नै पहिलो कर्तव्य रहेको स्पष्ट पारे।
उनका अनुसार नेपाली सेनाको नेतृत्वमा उद्धार तथा राहतका कामहरू तीव्र गतिमा अघि बढिरहेका छन्। विशेष गरी जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका श्रमिकहरूको उद्धारलाई प्राथमिकतामा राखिएको छ। अपर त्रिशूली–३ ‘ए’ को सुरुङभित्र ३५ देखि ४१ जना श्रमिक फसेको सूचना प्राप्त भएकाले प्रवेशद्वारको लेदो पन्छाएर वा विस्फोटक पदार्थमार्फत वैकल्पिक बाटो बनाएर उनीहरूलाई निकाल्ने प्रयास भइरहेको अर्थमन्त्री वाग्लेले जानकारी दिए। यसै गरी अपर त्रिशूली–३ ‘बी’ लगायतका आयोजनामा फसेकाहरूको पनि खोजी भइरहेको उनले बताए।
बाढी तथा पहिरोका कारण सडक र पुल भत्किएर सम्पर्कविच्छेद भएका धुन्चे बजार तथा त्रिशूली नदीपारिका क्षेत्रमा हेलिकप्टरमार्फत खाद्यान्न तथा राहत सामग्री पु¥याउने काम भइरहेको छ। हाल उद्धार र राहतका लागि सेनाका ५ र निजी क्षेत्रका ९ गरी कुल १४ वटा हेलिकप्टर परिचालन गरिएको भए पनि त्यो पर्याप्त नभएकाले थप एमआई–१७ जस्ता ठूला हेलिकप्टर परिचालन गर्ने प्रयास भइरहेको छ।
उद्धार कार्यमा वैदेशिक सहयोगबारे बोल्दै अर्थमन्त्री वाग्लेले सुरुङभित्र फसेका श्रमिकको खोजीका लागि भारत र चीनबाट प्राविधिक सहयोगको प्रस्ताव आएको जानकारी दिए। प्राविधिक समन्वय मिलाएर आवश्यकता अनुसार अन्तर्राष्ट्रिय विशेषज्ञहरूको सहयोग लिन सरकार तयार रहेको उनले बताए।