काठमाडौं । मुलुक प्राकृतिक विपत्तिको चपेटामा परिरहेका बेला नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र शक्ति संघर्षमा नअल्झिन नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य रञ्जित कर्णले पार्टी नेतृत्व तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
नेता कर्णले विपद्को समयमा राष्ट्रलाई आवश्यक पर्ने कुरा राष्ट्रिय एकता र सामूहिक प्रयास भएको बताएका छन्। उनले नेपाली कांग्रेसभित्रका आन्तरिक मतभेद तथा विवादलाई तत्काल थाती राखेर पीडित नागरिकको उद्धार, राहत र सेवामा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।
उनले विशेषगरी कांग्रेस सानेपा र चुनदेवीबीचको विवादमा अल्झिने समय अहिले नभएको उल्लेख गर्दै पार्टीभित्रको शक्ति संघर्षभन्दा जनताको जीवनरक्षा महत्वपूर्ण रहेको बताएका छन्।
“अहिलेको प्राथमिकता पार्टीभित्रको शक्ति संघर्ष होइन, पीडित जनताको उद्धार, राहत र सेवा हो,” नेता कर्णको भनाइ छ।
उनले विपद्को यस कठिन घडीमा सबै आन्तरिक मतभेद र विवादलाई पन्छाएर एकजुट भई जनताको घरदैलोमा पुग्न तथा विपद्मा परेका नागरिकको हात समात्न सबैलाई आह्वान गरेका छन्।
“सबै कुरा छाडौँ, जनसेवामा जुटौँ” भन्ने सन्देशसहित नेता कर्णले संकटको समयमा राजनीतिक एकता र मानवीय सेवाको आवश्यकता औंल्याएका छन्।