काठमाडौ । रसुवा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी पाल्पाका ३७ वर्षीय कृष्णबहादुर बस्याल पाँच दिनदेखि सम्पर्कविहीन छन्। रिब्दीकोट गाउँपालिका–५ का कृष्ण रसुवास्थित रसुवा जलविद्युत् सीडीआर ४६६–रसुवा बोर्डर–ए साइटमा कार्यरत थिए।
परिवारका अनुसार बाढी आएको दिन अर्थात् भदौ १० गते बिहान ८ः४६ बजेसम्म कृष्णको मोबाइल नम्बर ९८६१८५६०५० प्रभावित क्षेत्रमा सम्पर्कमा रहेको देखिएको थियो। त्यसपछि भने उनको मोबाइलमा सम्पर्क हुन सकेको छैन। कृष्णसँग बाढी आउनुअघि परिवारका सदस्यले फोनमा कुराकानी गरेका थिए। त्यसपछि उनको अवस्था अज्ञात बनेको हो। आयोजनासँग पटक–पटक सम्पर्क गर्दा उद्धारको प्रयास भइरहेको जानकारी पाए पनि हालसम्म कृष्णको अवस्था यकिन हुन नसकेको परिवारले जनाएको छ।
कृष्णका आफन्त विष्णु राईका अनुसार आयोजनाले मौसम तथा बाढीका कारण प्रभावित क्षेत्रमा तत्काल पुग्न कठिनाइ भएको बताउँदै आएको थियो। तर पाँच दिन बितिसक्दा पनि कृष्णको कुनै जानकारी नआएपछि परिवार थप चिन्तित बनेको छ। धेरैपटक आयोजनाको कार्यालयमा फोन गर्यौँ। उद्धार भइरहेको छ भनेर भन्नुभयो। कहिले पानी र मौसमका कारण प्रभावित क्षेत्रमा पुग्न नसकेको बताइयो। तर आज पाँच दिन भइसक्यो, मेरो भाइको अवस्था अझै थाहा हुन सकेको छैन राईले भने। कृष्णकी आमा छोराको खबर आउने आशामा दिनरात पर्खिरहेकी छन्। बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्तिको खबर आउँदा कृष्ण पनि सुरक्षित भेटिने आशा जाग्ने गरेको परिवार बताउँछ। परिवारले स्थानीय गाउँपालिका तथा विपद्का बेला सम्पर्क गर्न सरकारले उपलब्ध गराएको कल सेन्टरमा समेत कृष्णबारे जानकारी गराइसकेको जनाएको छ। तर अहिलेसम्म उनको अवस्थाबारे ठोस जानकारी प्राप्त नभएको परिवारको गुनासो छ।
कृष्ण करिब दुई वर्षदेखि उक्त जलविद्युत् आयोजनामा कार्यरत रहेको परिवारले जनाएको छ। प्रभावित क्षेत्रमा करिब ९३ जना कामदार रहेको आफूहरूले सुनेको आफन्तको भनाइ छ। पाँच दिन बितिसक्दा पनि कृष्णको अवस्था पत्ता नलागेपछि परिवारले सरकारले तत्काल खोज तथा उद्धार टोली परिचालन गरी उनको खोजीलाई प्राथमिकता दिन आग्रह गरेको छ। यसबीच कृष्णका दाइले भाइको सुरक्षित फिर्तीको आशामा पछिल्लो पटक उनलाई सन्देश पठाएका छन्। सन्देशमा लेखिएको छ घर छिट्टै आउनू भाइ। कृष्णबहादुर बस्यालबारे कुनै जानकारी प्राप्त भएमा विष्णु राईको ९८६७१६४३९३ नम्बरमा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ।