काठमाडौँ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२–८३ को आर्थिक सर्वेक्षण अनुसार समस्याग्रस्त घोषित २० सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी प्रक्रिया अझै पूरा हुन सकेको छैन ।
सर्वेक्षणअनुसार फागुन मसान्तसम्म देशभर दर्ता भएका सहकारीको संख्या ३२ हजार ३२५ पुगेको छ । तीमध्ये सहकारी क्षेत्रमा करिब १० खर्ब २९ अर्ब ५७ करोड रुपैयाँ बचत परिचालन भएको र ८२ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको उल्लेख छ । कोपोमिस प्रणालीमा हालसम्म १९ हजार ९०३ सहकारी आबद्ध भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा वृद्धि भएको देखिन्छ । यसका साथै राष्ट्रिय सहकारी नियमन प्राधिकरणले ८३४ सहकारीलाई सञ्चालन अनुमति दिएको छ ।
सरकारले समस्याग्रस्त घोषित २३ सहकारीमध्ये ३ वटा सहकारीको राफसाफ भइसकेको छ भने बाँकी २० सहकारीको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी अझै प्रक्रियामै रहेको छ । हालसम्म सहकारीसँग सम्बन्धित करिब ८० हजार दाबीकर्ताबाट ४७ अर्ब ६० करोड रुपैयाँभन्दा बढी दाबी दर्ता भएको छ । त्यसमध्ये केही दाबीकर्तालाई आंशिक तथा पूर्ण रूपमा भुक्तानी गरिएको छ भने अझै ठूलो रकम फिर्ता गर्न बाँकी रहेको सर्वेक्षणमा उल्लेख गरिएको छ ।