काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुमवासी बस्ती हटाउने क्रममा राज्यको व्यवहार क्रूर र अमानवीय देखिएको टिप्पणी गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘विस्थापनको व्याकुलता,शहरी सुकुमवासीको स्वास्थ्य र मनोसामाजिक संघर्षको विश्लेषण’ विषयक कार्यक्रममा बोल्दै उनले बस्ती खाली गराउनुअघि पर्याप्त समय र वैकल्पिक व्यवस्था नदिई बल प्रयोग गरिएकोमा आपत्ति जनाए । महामन्त्री पौडेलका अनुसार बस्तीमा रहेका सबै व्यक्ति जग्गा कब्जा गर्ने उद्देश्यले मात्र बसेका नभई त्यहाँ वास्तविक सुकुमवासीहरू पनि रहेको भन्दै उनीहरूको अवस्थालाई बेवास्ता गरिएको छ ।
उनले विशेषगरी बालबालिका, सुत्केरी महिला र वृद्धवृद्धाको अवस्थाप्रति राज्य संवेदनशील नबनेको आरोप लगाए । उनका अनुसार पर्याप्त तयारी र मानवीय दृष्टिकोणबिना गरिएको यस्तो कदमले विस्थापित परिवारमा ठूलो मानसिक तथा सामाजिक असर परेको छ । पौडेलले वास्तविक सुकुमवासी र अन्यलाई छुट्याएर व्यवस्थित व्यवस्थापन गर्नुपर्नेमा राज्य असफल भएको भन्दै मानवीय दृष्टिकोणबाट यस्तो कार्य गलत भएको बताए । उनले विस्थापित परिवारका लागि वैकल्पिक व्यवस्था र मनोसामाजिक परामर्श आवश्यक रहेको पनि जोड दिए ।