काठमाडौँ । उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबीच औपचारिक रूपमा एकता भएको छ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले शुक्रबार त्रिपुरेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा दुई दलबीच एकता सम्पन्न भएको घोषणा गरेका हुन् ।
उनले कार्यक्रममा हाम्रो नेपाल पार्टीका नेता तथा कार्यकर्तालाई उज्यालो नेपाल पार्टीमा स्वागत गरेका थिए । अध्यक्ष घिसिङले देशमा बलियो वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यसहित विभिन्न राजनीतिक दलहरूसँग एकता प्रक्रिया अघि बढाइएको बताए । उनका अनुसार उज्यालो नेपाल पार्टीले यसअघि राष्ट्रिय परिवर्तन पार्टीसँग पनि एकता गरिसकेको छ । उनले पछिल्लो समय विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी तथा विभिन्न पेशा–व्यवसायमा संलग्न व्यक्तिहरू पनि पार्टीमा जोडिने क्रम बढिरहेको जानकारी दिए । एकता प्रक्रियामा सहभागी सबैलाई बधाई दिँदै घिसिङले आगामी दिनमा पार्टीलाई देशको नेतृत्व गर्न सक्ने वैकल्पिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए । साथै, एकतासम्बन्धी थप सहमति र भावी योजनाबारे दुवै पार्टीका महासचिवहरूले विस्तृत जानकारी दिने उल्लेख गरिएको छ ।