काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अनुहार र कपालको शैली मिलेको भन्दै चर्चामा आएको बंगलादेशको दुर्लभ अल्बिनो सेतो भैंसी अहिले संरक्षणका लागि ढाका चिडियाखानामा राखिएको छ ।
विशेष किसिमको गोरो र झुप्पा कपालका कारण सामाजिक सञ्जालमा भाइरल बनेको उक्त भैंसीलाई इद–उल–अधाको समयमा कुर्बानी दिनबाट जोगाइएको हो । ढाका चिडियाखानाका निर्देशक रफिकुल इस्लाम तालुकदारका अनुसार भैंसीलाई केवल प्रदर्शनका लागि नभई संरक्षणको उद्देश्यले चिडियाखानामा ल्याइएको हो । उनले अहिले भैंसीलाई विशेष निगरानी र हेरचाहमा राखिएको बताए । उनका अनुसार भैंसी खुला क्षेत्रमा राखिएको भए पनि सुरक्षाका कारण पर्यटकलाई टाढाबाट मात्रै अवलोकन गर्न दिइएको छ ।
करीब आठ महिनाअघि ढाकानजिकैको नारायणगञ्जस्थित राबेया एग्रो फार्ममा ल्याइएको यो भैंसी दुई महिनाअघि इदको कुर्बानीका लागि एक व्यवसायीले खरिद गरेका थिए । तर फार्ममै रहँदा यसको अनुहार र कपाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिलेको भन्दै फोटो र भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो । स्थानीयदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसम्म यसको चर्चा भएपछि बंगलादेशका गृहमन्त्री सलाहउद्दीन अहमदले यो दुर्लभ प्रजातिको भैंसी भएकाले बलि नदिई संरक्षण गरिने घोषणा गरेका थिए । त्यसपछि भैंसीलाई स्थानीय प्रहरी चौकीमा राखिएको थियो । पछि प्रहरी सुरक्षासहित ढाका चिडियाखानामा स्थानान्तरण गरिएको जनाइएको छ । चिडियाखानाको नियमअनुसार नयाँ जनावरलाई कम्तीमा दुई सातासम्म क्वारेन्टाइनमा राख्नुपर्ने भएकाले अहिले पर्यटकलाई यसको नजिक जान वा छुन अनुमति दिइएको छैन ।