काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर मापदण्ड पूरा नगरेको भन्दै ‘तेज’ ब्रान्डको तोरीको तेल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।
विभागद्वारा जारी सूचनाअनुसार बजार अनुगमनका क्रममा संकलन गरिएको नमुना परीक्षण गर्दा सिद्धार्थ आयल इन्डस्ट्रिजले उत्पादन गरेको ‘तेज’ ब्रान्डको तोरीको तेल न्यून गुणस्तरको भेटिएको हो । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार गरिएको परीक्षणमा उक्त तेल नेपाल सरकारले निर्धारण गरेको मापदण्डअनुसार नभेटिएपछि सम्बन्धित ब्याचका सम्पूर्ण उत्पादन तत्काल बजारबाट हटाउन निर्देशन दिइएको विभागले जनाएको छ । साथै, सो तेलको बिक्री–वितरण रोक्नसमेत आग्रह गरिएको छ । विभागका अनुसार फिर्ता गर्न भनिएको तेल आयातित तोरी गेडाबाट उत्पादन गरिएको ‘तेज’ ब्रान्डको हो । उक्त उत्पादनको ब्याच नम्बर २० रहेको छ भने उत्पादन मिति २०८२ फागुन २८ उल्लेख गरिएको छ । यसको उपभोग्य अवधि ६ महिनाको रहेको जनाइएको छ । यो तेल रुपन्देहीको गुरबानियामा रहेको सिद्धार्थ आयल इन्डस्ट्रिजले उत्पादन गरेको विभागले जानकारी दिएको छ ।