काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वास्थ्य, शिक्षा र रोजगारीलाई अब महानगरको मुख्य प्राथमिकतामा राखिने बताएका छन् ।
बिहीबार ललितपुरमा आयोजित अंगदाता सम्मान कार्यक्रमको उद्घाटन गर्दै उनले महानगरले पूर्वाधार, सम्पदा संरक्षण र हरियाली प्रवर्द्धनमा उल्लेखनीय काम गरिसकेको उल्लेख गरे। उनले किष्ट अस्पतालसँग आफ्नो सम्बन्ध सत्यमोहन जोशी बिरामी भएको समयदेखि नै नजिकिएको स्मरण गर्दै अब स्वास्थ्य, शिक्षा र रोजगारीतर्फ ध्यान केन्द्रित गर्ने बताए। महर्जनले आफू दोस्रो कार्यकालको अन्तिम वर्षमा रहेको र बाँकी काम पूरा गर्ने लक्ष्यसहित अघि बढिरहेको बताए। संविधानअनुसार मेयर दुई कार्यकाल मात्र हुने भएकाले यो आफ्नो अन्तिम कार्यकाल भएको उनले उल्लेख गरे।
उनले ललितपुरका खोकना, हरिसिद्धि, बुङ्गमती र धापाखेल क्षेत्रमा अझै केही पूर्वाधार विकास बाँकी रहेको भन्दै ती क्षेत्रमा काम तीव्र बनाइरहेको जानकारी दिए। महानगरले सम्पदा संरक्षणको काम धेरै हदसम्म पूरा गरिसकेको र अब शिक्षा, स्वास्थ्य तथा रोजगारीमा लगानी बढाइने उनले बताए। साथै, महानगरलाई सफा, हराभरा र व्यवस्थित बनाउने अभियानलाई निरन्तरता दिइने र स्मार्ट स्ट्रिट लाइट विस्तारपछि ललितपुरलाई झिलिमिली सहर बनाउने योजना रहेको पनि उनले जानकारी दिए।