सर्लाही । देशभरका एसईई उत्तीर्ण विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा निःशुल्क +२ अध्ययन गर्ने अवसरसहित ‘प्रोजेक्ट शिक्षा’ छात्रवृत्ति कार्यक्रमको आवेदन खुला गरिएको छ। आर्थिक अभावका कारण उच्च शिक्षा लिन कठिनाइ भोगिरहेका विद्यार्थीलाई लक्षित गर्दै ल्याइएको उक्त कार्यक्रमबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का युवा नेता एवम् सर्लाहीको गोडैता नगरपालिकाका नगर सभापति भाग्य नारायण राय ले जानकारी दिएका छन्।
नगर सभापति रायका अनुसार ‘प्रोजेक्ट शिक्षा’ अन्तर्गत देशभरबाट कुल १५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ, जसमा ४० जनाले पूर्ण छात्रवृत्ति तथा ११० जनाले आंशिक छात्रवृत्ति प्राप्त गर्नेछन्। पूर्ण छात्रवृत्तिमा छनोट भएका विद्यार्थीले काठमाडौंमा +२ अध्ययनका लागि क्याम्पस शुल्क, होस्टेल तथा खानाको सम्पूर्ण सुविधा निःशुल्क पाउनेछन् भने आंशिक छात्रवृत्तिमा क्याम्पस शुल्क छुटको व्यवस्था गरिएको छ।
रायले विशेषगरी मधेश तथा ग्रामीण भेगका जेहेन्दार विद्यार्थीलाई अवसरको सदुपयोग गर्न आग्रह गरेका छन्। “आर्थिक अभावकै कारण कुनै पनि विद्यार्थीको पढाइ रोकिनु हुँदैन भन्ने उद्देश्यले यस्तो अभियान सञ्चालन गरिएको हो,” उनले बताए। उनले योग्य विद्यार्थीलाई समयमै आवेदन गरी आफ्नो भविष्य निर्माणतर्फ अग्रसर हुन समेत आग्रह गरेका छन्।
उनका अनुसार छात्रवृत्ति कार्यक्रमले आर्थिक रूपमा कमजोर तर अध्ययनमा रुचि भएका विद्यार्थीलाई काठमाडौंमा गुणस्तरीय शिक्षा हासिल गर्ने बाटो खोल्ने विश्वास लिइएको छ। पछिल्लो समय शिक्षा क्षेत्रमा युवाहरूलाई अवसरसँग जोड्ने अभियानमा सक्रिय रहेका रायले विद्यार्थीको भविष्य निर्माणमा आफू निरन्तर सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
छात्रवृत्तिका लागि आवेदन दिन इच्छुक विद्यार्थीले (यहाँ क्लिक गर्नुहोस् मार्फत) आवेदन दिन सक्नेछन्। आवेदनको अन्तिम मिति २०८३ जेठ १३ गते तोकिएको छ।