काठमाडौं ।नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का निवर्तमान अध्यक्ष शेषराज भट्टराईले सुरुमै राज्यले शैक्षिक क्षेत्रलाई सतही रूपमा मात्र हेरेको भन्दै संवेदनशील व्यवसायप्रतिको राज्यको सोचाइ ‘न्यारो’ भएको आरोप लगाएका छन् ।
इक्यानले आज आयोजना गरेको ‘शैक्षिक परामर्श क्षेत्रको नियमन र सुरक्षाः कानुनी प्रक्रिया र संस्थागत सहकार्य’ विषयको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
“गल्ती गरेका छैनौं, तर डराएका छौं,” उनले भने, “यस्ता गतिविधि संयुक्त टाक्स फोर्सबाट सञ्चालन गर्नुपर्छ। गल्ती गर्नेलाई कारबाही होस्, तर सबैलाई एउटै नजरले नहेरियोस् र मिडिया ट्रायल नगरियोस् ।”
नियमावलीको बहानामा व्यवसायीलाई धरौटी राख्न बाध्य पार्ने कानुनी व्यवस्था नल्याउन पनि उनले आग्रह गरेका थिए ।
त्यस्तै इक्यानकै पूर्व अध्यक्ष दीपक गुरुङले निर्देशिका मात्र भएकाले अधिकृतहरूले दुःख दिने गरेको भन्दै कन्सल्टेन्सी नियमनका लागि ऐन नै आवश्यक रहेको बताए । ९५ वटा संस्थामा एकैपटक छापा मारिँदा समाजमा आफूहरूलाई ‘मानव तस्करी संघ’ को अध्यक्ष भन्न थालिएको दुखेसो गर्दै उनले राज्यको प्रस्तुति यही रहे सबै व्यवसायी र कर्मचारी सडकमा उत्रिन बाध्य हुने चेतावनी दिएका थिए ।
“यही स्थिति रहे सडकमा आउने अवस्था नहोस्, सुकुम्बासी झैं हजारौं आउँछन्,” उनले भने ।
ठगी गर्नेलाई कारबाहीको स्वागत गर्दै पासपोर्ट तथा सञ्चालक नहुँदा कर्मचारी पक्राउ गरिएको घटनाप्रति भने उनले असन्तुष्टि जनाए ।