काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्ना सामुदायिक विद्यालयहरूमा सञ्चालन गर्दै आएको पाठ्यपुस्तकरहित शुक्रबार (‘बुक फ्री फ्राइडे’) कार्यक्रमलाई थप प्रभावकारी, दिगो र नतिजामुखी बनाउँदै निरन्तरता दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। महानगरपालिकाको शिक्षा विभागद्वारा आयोजित विशेष समीक्षा कार्यशालामा सहभागी प्रधानाध्यापक, फोकल शिक्षक तथा शिक्षाविद्हरूले विद्यालयहरूलाई आत्मनिर्भर बनाउँदै शिक्षकहरूको क्षमता विकासमा लगानी बढाउन सुझाव दिएका हुन्। महानगरले शैक्षिक सत्र २०८० देखि सामुदायिक विद्यालयका कक्षा ४ देखि ८ सम्म ‘सिर्जनात्मक सिकाइ’ र कक्षा ९ र १० मा ‘शिक्षामा सिप’ (सर्ट टर्म भोकेसनल कोर्ष) कार्यक्रम सञ्चालन गर्दै आएको छ। चालु शैक्षिक सत्रको नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि साझेदारहरूको पृष्ठपोषण लिने र प्राप्त नतिजालाई संस्थागत गर्ने उद्देश्यले यो कार्यशाला आयोजना गरिएको हो।
कार्यशालामा कार्यप्रगति विवरण प्रस्तुत गर्दै शिक्षा विभागका अधिकारीहरूले विद्यार्थीहरूको रुचि र उपसमूह गठनको रोचक तथ्याङ्क सार्वजनिक गरेका छन्। वरिष्ठ विद्यालय निरीक्षक विनिता महतका अनुसार गत वर्ष सिर्जनात्मक सिकाइतर्फ २३ वटा विषयका ७०५ उपसमूहमा क्रियाकलाप भएका थिए, जसमा सबैभन्दा बढी रुचि ’वातावरण र बालबालिका’ (वावा) उपसमूहमा (८२ वटा) देखिएको थियो। दोस्रोमा आविष्कार प्रवद्र्धन गर्ने ‘स्टीम’ (७४ वटा) र तेस्रोमा नृत्य (६७ वटा) उपसमूह रहेका थिए। तर, परम्परागत नेवारी ‘धाः बाजा वादन’ मा विद्यार्थीहरूको रुचि शून्य रहँदा एउटा पनि उपसमूह गठन हुन सकेन। त्यस्तै डम्फु (४) र हस्तकला (६) मा न्यून आकर्षण देखियो। यता कक्षा ९ र १० को ‘शिक्षामा सिप’ तर्फका १० वटा विधामध्ये ‘ब्युटिसियन एन्ड हेयर स्टाइल’ र ‘कुलिनरी आट्र्स’ (४१ उपसमूह) मा सबैभन्दा आकर्षण रहँदा ’इन्डिजिनस र कन्टेम्पोररी मेसिनरी – डिजास्टर रेडीनेस’ विषयमा भने विद्यार्थीको रुचि शून्य देखियो।
महानगरपालिकाको स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले कार्यान्वयन तहमा रहेका शिक्षक र प्रधानाध्यापकहरूको वास्तविक क्षमता र धरातलीय यथार्थ बुझेर मात्र आगामी नीति तथा बजेट तय गरिने प्रतिबद्धता जनाएका छन् । शिक्षा अधिकारी नमराज ढकालले यो कार्यक्रमले विद्यार्थीहरूमा गहन सोच, रचनात्मकता, सञ्चार र सहकार्यको क्षमता बढाएको पृष्ठपोषण प्राप्त भएको बताए । यद्यपि, शिक्षा अधिकृत केशव ज्ञवालीले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ को भावना अनुरूप यो कार्यक्रम रोजगारउन्मुख र प्रभावकारी भए पनि सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेकाले परिवर्तित सन्दर्भमा शुक्रबारे कार्यक्रमको कार्यढाँचा (प्रारूप) मा केही परिमार्जन र थप निर्णय गर्नुपर्ने टड्कारो आवश्यकता रहेको बताए ।
महानगरपालिकाले यस बृहत् शैक्षिक तथा व्यावहारिक परियोजनाका लागि कुल ६ करोड रुपैयाँ बजेट विनियोजन गरी खर्च गरेको थियो। जसमध्ये सिर्जनात्मक सिकाइका लागि ३ करोड, शिक्षामा सिपका लागि १ करोड ५० लाख, सांस्कृतिक संस्थानसँगको सहकार्यमा सङ्गीत प्रशिक्षणका लागि ५० लाख र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँगको साझेदारीमा म्युरल आर्ट तथा मूर्तिकला प्रशिक्षणका लागि १ करोड रुपैयाँ परिचालन गरिएको वरिष्ठ शाखा अधिकृत सुशील सुवेदीले जानकारी दिए । शिक्षा नियमावली २०५९ को परिधिभित्र रही बालबालिकाको सिर्जनात्मक प्रतिभा प्रवद्र्धन गर्न महानगरले सुरु गरेको यो मोडेललाई देशकै उदाहरणीय सिकाइका रूपमा हेरिएको छ।