काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले विद्यालय शिक्षा क्षेत्र योजना (एसइएसपी) अन्तर्गत सञ्चालन भइरहेका कार्यक्रमको प्रगति तथा आगामी बजेटबारे समीक्षा गर्न पाँचदिने बैठक सुरु गरेको छ। आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया चलिरहेका बेला मन्त्रालयले विकास साझेदार निकायहरूसँग मिलेर शिक्षा क्षेत्रका प्राथमिकता र भावी योजनामाथि छलफल थालेको हो।
बैठकमा मन्त्रालयअन्तर्गतका विभिन्न निकाय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र लगायतका संस्थाका प्रतिनिधिसँगै एसइएसपीमा सहयोग गर्दै आएका विकास साझेदारहरूको सहभागिता रहेको छ। मन्त्रालयका सचिव चूडामणि पौडेल को अध्यक्षतामा सुरु भएको बैठकमा युरोपेली सङ्घ को नेतृत्वमा विभिन्न अन्तर्राष्ट्रिय विकास साझेदार सहभागी भएका छन्। कार्यक्रममा संयुक्त अधिराज्य बेलायत, फिनल्यान्ड, नर्वे, युनिसेफ, एसियाली विकास बैंक र विश्व बैंक लगायतका निकायको उपस्थिति रहेको थियो। उद्घाटन सत्रमा विभिन्न देशका राजदूत तथा एजेन्सी प्रमुखहरूले नेपालको शिक्षा क्षेत्रमा भइरहेका सहयोग र कार्यक्रमबारे धारणा राखेका थिए। विकास साझेदार संस्थाका प्रतिनिधिहरूले शिक्षामन्त्री सस्मित पोखरेल सँग भेटवार्ता गर्दै नेपालको शिक्षा सुधारमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
कार्यक्रममा सचिव पौडेलले सरकार र विकास साझेदारबीचको सहकार्यबाट शिक्षा क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको बताए। उनले आधारभूत तहको सिकाइ सुधार, प्रविधिमैत्री शिक्षा र तीन तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिए। त्यसैगरी मन्त्रालयका सहसचिव शिवकुमार सापकोटा ले शिक्षा सुधारका लागि भइरहेको सहकार्यबारे जानकारी गराएका थिए भने विकास सहायता समन्वय शाखाका प्रमुख रमेश प्रसाद घिमिरे ले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारे। बैठकको प्राविधिक सत्रमा आगामी आर्थिक वर्ष २०८३८४ का लागि प्रस्तावित बजेट तथा कार्यक्रमहरूको समीक्षा गरिएको छ। साथै शिक्षा क्षेत्रका विभिन्न सूचक, प्राथमिकता प्राप्त कार्यक्रम र तीन तहका सरकारले कार्यान्वयन गर्ने योजनाबारे पनि छलफल गरिएको मन्त्रालयले जनाएको छ।