काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ इक्यानलेले शैक्षिक परामर्श क्षेत्रमा हाल भइरहेको अनुगमन, छापा तथा नियन्त्रणका गतिविधिप्रति आफ्नो आधिकारिक संस्थागत धारणा सार्वजनिक गरेको छ।
संघले कानुन उल्लंघन गर्ने जो–कोहीमाथि निष्पक्ष र कडा कारबाही हुनुपर्नेमा समर्थन जनाउँदै सम्पूर्ण क्षेत्रलाई एउटै दृष्टिले हेर्ने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेको हो।
इक्यानले शिक्षा क्षेत्रमा हुने ठगी, नक्कली कागजात प्रयोग, मानव तस्करी, अवैध आर्थिक कारोबार तथा विद्यार्थी–अभिभावकमाथिको दुरुपयोगलाई कुनै हालतमा स्वीकार गर्न नसकिने स्पष्ट पारेको छ। यस्ता गतिविधिमा संलग्न व्यक्ति वा संस्थामाथि प्रचलित कानुनअनुसार कठोर, पारदर्शी र निष्पक्ष कारबाही हुनुपर्ने संघको धारणा छ।
इक्यानले नेपालको संविधान, कम्पनी ऐन, शिक्षा ऐन तथा वैदेशिक अध्ययनसम्बन्धी प्रचलित कानुनी संरचनाप्रति आफू पूर्ण प्रतिबद्ध रहेको जनाएको छ।
इक्यानले सरकार तथा सरोकारवालासँग सहकार्य गर्दै शैक्षिक परामर्श क्षेत्रलाई मर्यादित, पारदर्शी, उत्तरदायी र राष्ट्रिय हितअनुकूल बनाउन आफू प्रतिबद्ध रहेको जनाएको छ ।
केही दिन अघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उच्च शिक्षाको लागि विदेश पठादिन्छु भनी ठगी गरेको उजुरीका आधारमा खटिएको प्रहरीले ६९ वटा कन्सलटेन्सीका सञ्चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।



