कञ्चनपुर । अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई स्थानीय तहले विद्यालय सञ्चालनको समय परिवर्तन गरेका छन् ।
कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाले स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै सामुदायिक तथा संस्थागत विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।
कृष्णपुर नगर कार्यपालिकाको बैठकले मौसम प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
नगर प्रमुख हेमराज ओझाका अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ र लेटर ग्रेडिङ निर्देशिका, २०८३ बमोजिम पाठ्यघण्टा नघट्ने तथा नगरभरिका विद्यालयमा एकरूपता कायम हुनेगरी व्यवस्था लागू गरिएको हो ।
शुक्लाफाँटा नगरपालिकामा पनि बढ्दो गर्मीका कारण यही जेठ ४ गतेदेखि बर्खे बिदासम्म विद्यालय बिहानी सत्रमा सञ्चालन हुने भएका छन् ।अभिभावक, शिक्षक तथा विद्यार्थीको मागअनुसार नगर शिक्षा समितिको बैठकले समय परिवर्तन गर्ने निर्णय गरेको हो ।
यसअघि बिहान १०ः०० बजेदेखि सञ्चालन हुँदै आएका विद्यालय अब बिहान ७ः०० बजेदेखि सुरु भई दिउँसो १ बजेर १५ मिनेटसम्म सञ्चालन हुनेछन् ।