काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दर्ता भएका राष्ट्रिय खेल संघहरूलाई आगामी असार १५ गतेभित्र अनिवार्य रूपमा नवीकरण प्रक्रिया पूरा गर्न अन्तिम समयसीमा तोकेको छ। पटक–पटकको सूचना र पत्राचारलाई बेवास्ता गरेपछि परिषद्ले बिहीबार (वैशाख ३१ गते) कडा चेतावनीसहितको सार्वजनिक सूचना जारी गरेको हो।
राखेपका अनुसार राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को परिच्छेद २६ को १० मा उल्लेखित प्रावधानअनुसार नवीकरण नगर्ने संघहरूको राष्ट्रिय मान्यता स्वतः समाप्त हुनेछ। यस्तो अवस्थामा ती संघहरू राष्ट्रिय स्तरबाट घटुवा भई स्थानीय खेल संघ वा क्लबको स्तरमा सीमित हुनेछन्। यसको प्रत्यक्ष अर्थ, ती संघहरूले राष्ट्रिय संघको रूपमा पाइरहेका सरकारी सेवा, सुविधा र अधिकारहरू पूर्ण रूपमा कटौती हुनेछन्।
परिषद्को संघ संस्था शाखा प्रमुख चन्द्रकुमार राईका अनुसार बारम्बारको ताकेता गर्दा पनि धेरैजसो संघहरूले सांगठनिक संरचना निर्माण, आवधिक निर्वाचन र नवीकरणमा चासो देखाएका छैनन्। “असार १५ सम्म प्रक्रिया पूरा नगरे खारेजी मात्र होइन, कानुनअनुसार अन्य थप कडा कारबाहीहरू समेत गरिनेछ,“ राईले भने ।
पछिल्लो समय नेपालका धेरै खेल संघहरूमा आन्तरिक विवाद, समयमा साधारण सभा र निर्वाचन नहुने तथा आर्थिक पारदर्शीताको अभाव देखिएपछि राखेपले खेलकुद क्षेत्रलाई मर्यादित र कानुनी दायराभित्र ल्याउन यो कठोर कदम चालेको हो। नवीकरणका लागि परिषद्ले राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ (दोस्रो संशोधन, २०८२) बमोजिमका सर्तहरू पालना गर्नुपर्ने स्पष्ट पारेको छ।
