काठमाडौं । विश्वको प्रमुख चिनी उत्पादक मुलुक भारतले आफ्नो आन्तरिक बजारमा आपूर्ति सुनिश्चित गर्न र मूल्यवृद्धि नियन्त्रण गर्न चिनी निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको छ। भारतीय सरकारले बुधबार राति एक आदेश जारी गर्दै आगामी सेप्टेम्बर ३० (असोज १४) सम्मका लागि निर्यातमा रोक लगाएको हो।
‘तत्काल प्रभाव’ बाट लागू हुने गरी जारी गरिएको यो प्रतिबन्धले नेपाल जस्ता आयातमा निर्भर छिमेकी मुलुकहरूलाई प्रत्यक्ष असर पार्ने देखिएको छ। आदेशमा सीमित अपवादबाहेक चिनी निर्यात पूर्ण रूपमा रोकिने उल्लेख गरिएको छ। यद्यपि, प्रक्रियामा रहेका केही कन्साइनमेन्ट र खाद्य सुरक्षाका लागि सरकारी सम्झौता (जिटुजी) अन्तर्गत हुने निर्यातलाई भने अनुमति दिइने भारतीय पक्षले स्पष्ट पारेको छ।
भारतले यो निर्णय आगामी चिनी उत्पादनमा पर्न सक्ने वातावरणीय प्रभावलाई मध्यनजर गर्दै लिएको हो। ‘एल निनो’ मौसमी प्रभावका कारण यस वर्ष औसतभन्दा कम मनसुन हुने र त्यसले उखु उत्पादनमा प्रत्यक्ष असर पार्ने मौसमविद्हरूको प्रक्षेपण छ। अक्टोबरदेखि सुरु हुने नयाँ सिजनमा चिनी उत्पादन घट्ने देखिएपछि सरकारले अग्रिम रूपमा आपूर्ति सङ्कट टार्ने रणनीति अपनाएको हो।
यसका साथै, इरान–इजरायल युद्धका कारण उत्पन्न ऊर्जा सङ्कटले भारतीय अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ। मध्यपूर्वबाट हुने ऊर्जा र मल आयातमा अवरोध तथा बढ्दो लागतका कारण आन्तरिक खाद्य सुरक्षालाई बलियो बनाउन भारतले यस्तो कडा नीति लिएको विश्लेषण गरिएको छ।
सरकारी तथ्याङ्कअनुसार भारतको चिनी निर्यातमा पछिल्ला वर्षहरूमा तीव्र गिरावट आएको छ। सन् २०२१–२२ मा १ करोड १० लाख टन चिनी निर्यात गरेको भारतले सन् २०२३–२४ मा पुग्दा केवल १ लाख टन मात्र निर्यात गरेको थियो। सन् २०२४–२५ मा केही सुधार भएर निर्यात ९ लाख टन पुगेको भए पनि उत्पादनको अनिश्चितताले पुनः नियन्त्रणको बाटो रोजिएको हो।
चिनी दैनिक उपभोग्य वस्तु मात्र नभई औद्योगिक कच्चा पदार्थ समेत भएकाले भारतको यो निर्णयले विश्व बजारमा चिनीको मूल्य थप बढ्न सक्ने अनुमान गरिएको छ। नेपालमा पनि चाडपर्व नजिकिँदै गर्दा भारतको यो प्रतिबन्धले बजारमा चिनीको अभाव र मूल्यवृद्धि हुनसक्ने जोखिम बढेको छ।