काठमाडौँ । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संविधान संशोधनलाई अग्रगमनसँग जोडेर अघि बढाउनुपर्ने बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संशोधन केवल प्रक्रियागत औपचारिकता मात्र नभई जनताको अधिकारलाई थप सुदृढ बनाउने माध्यम हुनुपर्ने धारणा राखे । नेम्वाङले संविधान संशोधन जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै देशलाई प्रगतितर्फ लैजाने उद्देश्यका साथ अघि बढ्नुपर्नेमा जोड दिए । उनका अनुसार संविधान संशोधन अग्रगमनका लागि हुनुपर्छ, पश्चगमनका लागि होइन । उनले संविधानलाई केवल अक्षरहरूको संग्रह नभई नेपाली जनताको रगत–पसिनाले लेखिएको साझा सहमतिको दस्तावेज भएको उल्लेख गर्दै यसले राष्ट्रिय एकता र साझा भावनालाई जोड्ने महत्वपूर्ण आधार भएको बताए ।