काठमाडौं । बाँकेको चिसापानी क्षेत्रमा हावाहुरीका कारण नेपाल विद्युत् प्राधिकरणको कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइनका दुई वटा टावर ढल्दा कर्णाली प्रदेशको विद्युत् आपूर्ति पूर्ण रूपमा प्रभावित भएको छ। हावाहुरीका क्रममा रुख ढलेर प्रसारण लाइनमा क्षति पुग्दा १३२ केभी क्षमताका टावरहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका हुन्।
यस घटनाप्रति ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले गम्भीर चासो व्यक्त गर्दै क्षतिग्रस्त संरचनाको तत्काल मर्मत गर्न र घटनाको गहिरो छानबिन गर्न सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन् । मन्त्री श्रेष्ठको सचिवालयले हाल सम्बन्धित कार्यालयहरूसँग निरन्तर समन्वय गरिरहेको र क्षतिग्रस्त टावर पुनर्निर्माण गरी विद्युत् सेवा सुचारु गर्न उच्च प्राथमिकताका साथ पहल भइरहेको जनाएको छ।
घटनाको गाम्भीर्यतालाई ध्यानमा राख्दै नेपाल विद्युत् प्राधिकरणले ग्रिड अप्रेसन प्रमुख रमणराज शर्माको संयोजकत्वमा एक उच्चस्तरीय छानबिन समिति समेत गठन गरेको छ। प्राधिकरणका अनुसार उक्त क्षतिग्रस्त टावर निर्माणको जिम्मेवारी आर एस इन्फ्रा कम्पनीले लिएको थियो, जसको प्राविधिक पक्षबारे समितिले अध्ययन गर्नेछ। प्रारम्भिक प्राविधिक विवरणअनुसार टावरको फाउन्डेसन (जग) नै पुनःनिर्माण गर्नुपर्ने अवस्था देखिएकाले मर्मत तथा पुनःस्थापनाको काम सम्पन्न हुन करिब तीन साता लाग्ने अनुमान गरिएको छ।
१३२ केभी प्रसारण लाइन अवरुद्ध भएपछि विकल्पको रूपमा पुरानो ३३ केभी प्रसारण लाइनमार्फत सीमित विद्युत् सेवा सुरु गरिए पनि उक्त लाइनको न्यून क्षमताका कारण कर्णाली प्रदेशभर विद्युत् आपूर्तिमा समस्या देखिएको छ। कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन कर्णालीको दीर्घकालीन ऊर्जा संकट समाधानका लागि महत्वपूर्ण मानिएको आयोजना हो।