काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम विगतको ‘फोटोकपी’ मात्र भएको टिप्पणी गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले २०८१ साल र २०८३ सालको नीति तथा कार्यक्रम हुबहु मिलेको भन्दै सरकारको आलोचना गरेका हुन ।
संसद्मा दुईवटा पुस्तिका देखाउँदै शाहीले भने, “मेरो हातमा दुईवटा किताब छन्। एउटा २०८१ सालको र अर्को हिजो प्रस्तुत २०८३ सालको नीति तथा कार्यक्रम। यी दुवै फोटोकपी गरेजस्ता छन्। लेख्ने मान्छे एउटै परेर यस्तो भएको हो कि!“ उहाँले अघिल्लो कार्यक्रममा २१७ बुँदा रहेको र अहिले १०० बुँदामा झारिए पनि सारमा कुनै परिवर्तन नभएको दाबी गरे
संसद्मा युवा र नयाँ अनुहारहरूको प्रवेश भए पनि नीति तथा कार्यक्रममा कुनै नयाँपन आउन नसकेकोमा उनले खेद व्यक्त गरे “हामीले व्यापक सुधारको अपेक्षा गरेका थियौँ, किनकि यहाँ नयाँ साथीहरू आएका थियौँ। तर कार्यक्रम १० प्रतिशत पनि परिवर्तन भएको छैन,“ शाहीले भने। उनले सांसदहरूलाई घर गएर दुवै वर्षका कार्यक्रम दाँजेर पढ्न समेत आग्रह गरे ।
नेता शाहीले नीति तथा कार्यक्रमले विगतमा जस्तै कर्णाली प्रदेशलाई यस पटक पनि उपेक्षा गरेको आरोप लगाए । कर्णालीका बासिन्दाप्रति सामाजिक सञ्जालमा सहानुभूति र संवेदना झल्काउने स्ट्याटस लेखेर मात्र विकास नहुने उनको तर्क थियो। वर्षौँदेखि कर्णालीमाथि हुँदै आएको विभेद अन्त्य गर्न ठोस योजना नआएको भन्दै उनले सरकारको ध्यानकर्षण गराए ।