काठमाडौँ । सस्मित पोखरेल सँग संयुक्त राष्ट्रसङ्घीय विभिन्न नियोगका प्रतिनिधिहरूले शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटमा संयुक्त राष्ट्रसङ्घ अन्तर्गतका नेपालस्थित विभिन्न निकायहरूबीचको सहकार्य र शिक्षा क्षेत्रमा भइरहेका सहयोगका विषयमा छलफल भएको हो । भेटमा आवासीय संयोजक लीला पिटर्स याहिमा सहित युनिसेफ, विश्व खाद्य कार्यक्रम, संयुक्त राष्ट्र जनसंख्या कोष, र अन्तर्राष्ट्रिय आप्रवासन संगठन का प्रतिनिधिहरू सहभागी थिए ।
छलफलमा समावेशी शिक्षा, प्रविधिको प्रयोग, साक्षरता, जीवनपर्यन्त सिकाइ, विद्यालय दिवा खाजा कार्यक्रम, डिजिटल लर्निङ, सुरक्षित बसाइसराइ तथा विद्यार्थीहरूको मानसिक स्वास्थ्यजस्ता विषयमा केन्द्रित रहेर विचार आदानप्रदान गरिएको थियो । मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा राष्ट्रसङ्घीय निकायहरूले पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा थप सहकार्य विस्तार गर्ने इच्छा व्यक्त गरे । साथै, युनिसेफकी प्रतिनिधिले पनि नेपालसँगको सहकार्य निरन्तर रहने प्रतिबद्धता जनाइन् ।