काठमाडौँ । नेपाली कांग्रेस का महामन्त्री प्रदीप पौडेलले पार्टीलाई नयाँ ऊर्जा दिन ‘जरा अभियान’ सुरु गरिएको बताएका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले यो अभियान कुनै गुट वा सीमित व्यक्तिमा केन्द्रित नभई पार्टीलाई समग्र रूपमा पुनर्जागरण गर्ने उद्देश्यले ल्याइएको स्पष्ट पारे । पौडेलले चुनाव जित्नकै लागि सिद्धान्त छोडेर गरिने गठबन्धनको राजनीति अब अन्त्य भएको उल्लेख गर्दै कांग्रेस आफ्नै उम्मेदवार लिएर जनतामाझ जाने बताए ।
उनले सत्ता प्राप्तिका लागि जस्तोसुकै गठबन्धन गर्ने प्रवृत्तिको अन्त्य भएको पनि दाबी गरे । उनका अनुसार पार्टीको क्रियाशील सदस्यता अभिलेख व्यवस्थित गर्न र इतिहास सुरक्षित राख्न सदस्यता अध्यावधिक तथा डिजिटलाइजेसन प्रक्रिया अघि बढाइएको छ । उनले पार्टी एकता अहिलेको प्रमुख आवश्यकता भएको भन्दै सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे । कार्यक्रममा पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत नेताहरूको सहभागिता रहेको थियो ।