काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद जगदीश खरेलले आफूविरुद्ध लगाइएका आरोप प्रमाणित गर्न खुला चुनौती दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले स्मार्ट टेलिकमको ३० अर्ब रुपैयाँ ठगी प्रकरणमा आफ्नो नाम जोडेर प्रकाशित समाचार भ्रामक भएको दाबी गरे ।
खरेलले उक्त प्रकरणसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट गर्दै कुनै बैठकमा सहभागी नभएको वा कुनै फाइल स्वीकृत नगरेको बताए । उनले यस विषयमा आफूलाई जोडेर प्रकाशित समाचारले आफ्नो व्यक्तिगत, राजनीतिक र संसदीय छविमा आघात पुगेको बताए । उनले प्रमाणित गर्न चुनौती दिँदै भने, यदि आफू उक्त प्रकरणमा संलग्न भएको प्रमाणित भए राजनीतिक जीवनबाट पूर्ण रूपमा अलग हुने घोषणा समेत गरे । साथै, प्रमाणित गर्न नसके पत्रकारितामा संलग्न पक्षले जिम्मेवारी लिनुपर्ने धारणा समेत राखे ।