काठमाडौँ । नेपाली कांग्रेस ले भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने व्यवस्था किन गरिएको भन्दै प्रतिनिधिसभामा प्रश्न उठाएको छ ।
प्रतिनिधिसभा नियमावली मस्यौदाको नियम २५९ लाई लिएर कांग्रेसले आपत्ति जनाएको हो । उक्त व्यवस्थामा संसद्, संसदीय समिति र सांसदको हकमा नियमावली नै विशेष कानुनसरह लागू हुने उल्लेख गरिएको छ । सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै कांग्रेसका सचेतक निश्कल राई ले यस्तो प्रावधानले भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी विद्यमान कानुनसँग बाझिने बताएका हुन् । उनले सांसदलाई अन्य कानुनभन्दा माथि राख्ने प्रयास स्वीकार्य नहुने धारणा व्यक्त गरे ।
उनले संसद् सदस्यलाई विशेषाधिकारका नाममा अन्य कानुनी प्रावधानबाट अलग राख्ने व्यवस्था लोकतान्त्रिक मूल्य र कानुनी समानताको सिद्धान्तविपरीत हुने बताए । त्यसैगरी, उनले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको आरोप समेत लगाए । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले संविधानको मर्मविपरीत काम गरेको भन्दै उनले परिषद्को निर्णय प्रक्रियामा असन्तुलन ल्याउने प्रयास भइरहेको टिप्पणी गरे ।