जनकपुर । मधेस प्रदेशमा सत्ता साझेदार चार राजनीतिक दलले वर्तमान सरकारलाई नै निरन्तरता दिने निर्णय गरेका छन्। मुख्यमन्त्री कृष्णप्रसाद यादवको नेतृत्वमा रहेको सरकारलाई अगाडि बढाउने विषयमा सत्तापक्षीय दलहरूबीच आइतबार जनकपुरमा भएको छलफलपछि यस्तो सहमति बनेको हो।
बैठकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादव, नेकपाका संसदीय दलका नेता युवराज भट्टराई, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव र लोसापाका संसदीय दलका नेता जयनुल राइनको सहभागिता रहेको थियो। संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले वर्तमान सरकारलाई निरन्तरता दिँदै यथाशीघ्र विश्वासको मत लिने निर्णय सार्वजनिक गरेका छन्।
गत २२ वैशाखमा जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता आइलागेको हो। नेकपा नेता युवराज भट्टराईका अनुसार बजेट कार्यान्वयनको समय र नयाँ बजेट ल्याउनुपर्ने बेलामा सरकार परिवर्तन गर्दा विकास कार्यमा अवरोध हुने भएकाले यो गठबन्धनलाई कायम राखिएको हो।
मधेस प्रदेश सभामा बहुमतका लागि ५४ मत आवश्यक पर्छ। जनमत पार्टी बाहिरिए पनि ६२ सदस्यको समर्थन रहेकाले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार सुरक्षित देखिएको छ।