काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सांसदहरूका लागि आयोजना गरिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमहरू महँगा फाइभ स्टार होटलमा गरिएको भन्दै आपत्ति जनाएकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले राज्यको स्रोतको दुरुपयोग र फजुल खर्चको विषयमा गम्भीर प्रश्न उठाएकी हुन्।
सिंहदरबारभित्रै पर्याप्त सभाहलहरू हुँदाहुँदै बाहिर महँगा होटल वा अरूसँग हल सापटी लिएर कार्यक्रम गर्नु पर्ने कुनै बाध्यता नरहेको उनको तर्क छ। सांसद तामाङले सिंहदरबारभित्रै धेरै सङ्ख्यामा सभाहलहरू उपलब्ध रहेको अवस्थामा बाहिर कार्यक्रम गर्दा लाग्ने खर्चको लेखाजोखा कसले गर्ने भन्दै प्रश्न गरेकी छन्।
आफूहरू आफैँ परिवर्तनको पक्षमा उभिएको र फजुल खर्च नगर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै उनले व्यवहारमा पुरानै प्रवृत्ति दोहोरिनु दुःखद भएको बताएकी छन्।