काठमाडौँ । नेपाली कांग्रेसका सह–महामन्त्री प्रकाश रसाइलीले सुदूरपश्चिम प्रदेशमा वर्तमान सत्ता गठबन्धन यथावत् रहने बताएका छन् ।
शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले शनिबारदेखि सुरु हुने कांग्रेसको प्रदेशस्तरीय चुनावी समीक्षा कार्यक्रमबारे जानकारी दिँदै तत्काल सरकार परिवर्तन वा गठबन्धन फेरबदलको कुनै सम्भावना नरहेको स्पष्ट पारे । रसाइलीले मुख्यमन्त्री परिवर्तनबारे पार्टीभित्र कुनै छलफल नभएको पनि बताए । कांग्रेसले आयोजना गर्न लागेको समीक्षा कार्यक्रममा महामन्त्री गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत शीर्ष नेताहरू सहभागी हुने जनाइएको छ । कार्यक्रममा फागुन २१ गते सम्पन्न निर्वाचनमा विजयी तथा पराजित उम्मेदवार, प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिको सहभागिता रहने उनले जानकारी दिए । उनका अनुसार कांग्रेसले सोमबार प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गर्ने तयारी गरेको छ ।