काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले उपसभामुख आफ्नो पार्टीको सदस्य नरहेको स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले उपसभामुख पार्टीबाट निर्वाचित भए पनि हाल उनी पार्टीको सदस्य नरहेको बताएका हुन् । साम्पाङले लेखेका छन्, “उपसभामुख हाम्रो पार्टीबाट जानु भएको हो, तर अहिले उहाँ हाम्रो पार्टीको सदस्य हुनुहुन्न।” उनका अनुसार उपसभामुखमाथि अब पार्टीको कुनै निर्देशन वा ह्वीप लागू नहुने स्पष्ट पारिएको छ । उनले यस विषयमा आफूले पहिले नै खेद व्यक्त गरिसकेको पनि उल्लेख गरेका छन् ।
साम्पाङले थप लेखेका छन्, “उहाँ हाम्रो पार्टीबाट जानु भएको हो, तर अब उहाँ पार्टीको हिस्सा रहनुहुन्न। त्यसैले उहाँका निर्णयमा पार्टीको कुनै निर्देशन वा ह्वीप लाग्दैन। मैले यसअघि नै खेद प्रकट गरिसकेको छु।” उनले चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्तिको सिफारिसमा उपसभामुखको सहमति रहेको विषयप्रति असन्तुष्टि जनाउँदै उक्त निर्णयलाई खेदजनक भनेका छन् । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ठाकुर श्रम संस्कृति पार्टीबाट सांसद बनेर पछि उपसभामुख पदमा पुगेकी हुन् ।