काठमाडौँ । परराष्ट्र मन्त्रालयले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको स्पष्ट अडान पुनः दोहोर्याएको छ।
शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले उक्त क्षेत्रका सम्बन्धमा नेपाल सरकारको धारणा यथावत् रहेको बताए। उनले नेपालले यस विषयमा भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यममार्फत आफ्नो स्थिति स्पष्ट गराइसकेको जानकारी दिए। प्रवक्ता क्षेत्रीका अनुसार नेपाली भूमी लिपुलेक हुँदै भारत–चीनबीच कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने भनिएको विषयमा नेपालले आपत्ति जनाइसकेको छ र यसबारे निरन्तर कूटनीतिक संवाद भइरहेको छ।
उनले सरकारले उक्त क्षेत्रमा सडक निर्माण, विस्तार वा सीमासम्बन्धी कुनै पनि गतिविधि नगर्न सम्बन्धित पक्षलाई निरन्तर आग्रह गर्दै आएको पनि बताए। त्यसैगरी मन्त्रालयले पश्चिम एसियामा रहेका नेपालीहरूको सुरक्षा अवस्था सामान्य रहेको उल्लेख गर्दै निरन्तर निगरानी भइरहेको जनाएको छ। इरानमा रहेका नेपाली नागरिक अमृत झाको रिहाइ प्रक्रिया पनि जारी रहेको मन्त्रालयले स्पष्ट पारेको छ।