काठमाडौँ। पूर्वमाओवादी नेता सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी मा प्रवेश गर्ने भएका छन्। पार्टीका प्रवक्ता सत्य घले गुरुङ का अनुसार किरातीसहित १५ जना आज औपचारिक रूपमा पार्टीमा आबद्ध हुन लागेका हुन्।
उनीहरूलाई स्वागत गर्न बागबजारस्थित हार्दिक होटल मा दिउँसो ३ बजे एकता घोषणा कार्यक्रम आयोजना गरिएको छ। पार्टी प्रवेशसँगै किरातीले श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी सम्हाल्ने बताइएको छ। पूर्वपर्यटनमन्त्री किराती जेनजी आन्दोलनपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायत नेताहरूबीच भएको पार्टी एकीकरणप्रति असन्तुष्टि जनाउँदै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा सक्रिय भएका थिए। जनार्दन शर्मा को पहलमा गठन भएको प्रलोपामा किराती पाँच सदस्यीय अध्यक्ष परिषद्का सदस्य थिए। तर गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि उनले पार्टी परित्यागको घोषणा गरेका थिए।