काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ)ले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि प्रकट गरेका छन् । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै संसदीय दलका नेता समेत रहेका साम्पाङले सरकारले विधि र पद्धति मिचेर गरेको नियुक्तिका लागि सिफारिस गरेको बताएका हुन् ।
अध्यक्ष साम्पाङले संसद्लाई छलेर र राष्ट्र प्रमुखलाई दबाब दिएर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरिनु आफैँमा गलत कदम भएको उल्लेख गरेका छन् । उनले वरियताको क्रममा चौथो नम्बरमा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश बनाउने सरकारको निर्णयलाई ठुलो गल्तीको संज्ञा दिँदै यस्तो गलत कार्यलाई कदापि सही भन्न नसकिने स्पष्ट पारेका छन् । विशेषगरी आफ्नै पार्टीबाट उपसभामुख बनेकी व्यक्तिको भूमिकाप्रति साम्पाङले असन्तुष्टि व्यक्त गरेका छन् ।
