काठमाडौँ । नेकपा (एमाले) को ललितपुरस्थित च्यासलमा रहेको केन्द्रीय कार्यालय हट्ने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकार प्राप्त सरकारी जग्गा र त्यसमा निर्मित संरचना खाली गर्न निर्देशन दिएपछि एमालेले आफ्नो कार्यालय सार्ने तयारी सुरु गरेको हो। एमालेले तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानका नाममा वि.सं. २०५८ चैतदेखि १२ रोपनी ६ आनाभन्दा बढी जग्गा भोगचलन गर्दै आएको भए पनि उक्त जग्गा हालसम्म ‘लिज’मा परिणत गरिएको छैन।
एमाले सचिव पद्मा अर्यालका अनुसार मन्त्रालयको पछिल्लो सूचना र बर्खायाममा कार्यालय डुबानमा पर्ने समस्याका कारण उपयुक्त नयाँ स्थानको खोजी भइरहेको छ। “बर्खाको समयमा हामीले धेरै दुःख भोग्दै आएका छौँ, पानीले कार्यालय नै डुबाउँछ,“ अर्यालले भनिन्, “अहिले हामी राम्रो र सुरक्षित स्थान खोजिरहेका छौँ।“
मन्त्रालयले तोकिएको म्यादभित्र लिजमा परिणत नगरिएका भोगाधिकार प्राप्त जग्गाहरू कानुनतः स्वतः समाप्त भइसकेको भन्दै ती संरचना खाली गर्न निर्देशन दिएपछि एमाले नेतृत्व वैकल्पिक स्थानको व्यवस्थापनमा जुटेको हो।