काठमाडौँ। चीनको मध्य भागमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगले सुँगुर पालन क्षेत्रमा ठूलो परिवर्तन ल्याएको छ । हेनान प्रान्तस्थित एक छ तले आधुनिक फार्ममा करिब ८४ हजार सेन्सर जडान गरिएको छ, जसले सुँगुरहरूको स्वास्थ्य र वृद्धि अवस्थाको निरन्तर निगरानी गर्छ ।
यस स्मार्ट फार्मले वार्षिक करिब १ लाख पाठा उत्पादन गर्ने र करिब २१ लाख सुँगुरलाई बजारका लागि तयार गर्ने लक्ष्य राखेको छ । यहाँ प्रयोग गरिएको एआई प्रणालीले फार्मभित्रको तापक्रम, आर्द्रता र दानाको मात्रा स्वचालित रूपमा नियन्त्रण गर्छ । त्यस्तै, प्रणालीले सुँगुरहरूको स्वास्थ्य अवस्था पहिचान गर्ने तथा प्रत्येक जनावरको वृद्धि दर विश्लेषण गर्ने क्षमता पनि राख्छ ।
कृषकहरूले मोबाइल एपमार्फत फार्मको सम्पूर्ण विवरण हेर्न र आवश्यक निर्देशन दिन सक्ने भएकाले परम्परागत खेती प्रणालीको तुलनामा समय र श्रम दुवैको बचत भएको छ । तथ्यांकअनुसार चीनमा हरेक वर्ष ७० करोडभन्दा बढी सुँगुर मासुका लागि प्रयोग हुन्छन् । यस्तो ठूलो माग पूरा गर्न र उत्पादनको गुणस्तर सुधार गर्न चीनले स्मार्ट फार्म प्रविधिमा तीव्र रूपमा लगानी बढाइरहेको छ ।