बैतडी । सुदूरपश्चिम प्रदेश सरकारले बैतडीको डिलाशैनी गाउँपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स विगत तीन वर्षदेखि अलपत्र अवस्थामा थन्किएको छ। सामाजिक विकास मन्त्रालयले २०७६ कात्तिक १७ गते हस्तान्तरण गरेको उक्त एम्बुलेन्स हाल डिलाशैनी गाउँपालिका–३, पसेरामा बेवारिसे बनेको हो।
कच्ची सडकमा सञ्चालन गर्न कठिनाइ हुनुका साथै पटक–पटक बिग्रिने र मर्मत खर्च अत्यधिक आउने समस्याका कारण २०७९ देखि एम्बुलेन्स थन्काइएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशसिंह बोहराका अनुसार मर्मत गरेर चलाउनुभन्दा खर्च बढी लाग्ने देखिएपछि यसलाई सञ्चालनमा ल्याउन नसकिएको हो। हाल डिलाशैनीमा एउटा पनि चालू अवस्थाको एम्बुलेन्स नहुँदा स्थानीय बिरामीहरू मारमा परेका छन्।
गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले २०७९ सालमै कार्यपालिका बैठकबाट एम्बुलेन्स प्रदेश सरकारलाई नै फिर्ता पठाउने निर्णय गरिएको जानकारी दिएका छन्। “बिग्रिएको एम्बुलेन्स गुडाएर धनगढीसम्म लैजान सकिँदैन, ट्रेलरमा राखेर लैजान भाडाको कुरा नमिलेपछि एम्बुलेन्स त्यहीँ थन्किएको छ,“ अध्यक्ष जोशीले भने।
स्मरण रहोस्, मन्त्रालयले सोही समयमा बैतडीको पञ्चेश्वर गाउँपालिकालाई पनि एम्बुलेन्स दिएको थियो, जुन २०७९ सालमै फिर्ता पठाइसकिएको छ। ग्रामीण सडकका लागि अनुपयुक्त भएको भन्दै सुदूरपश्चिमका अन्य धेरै पालिकाहरूले पनि प्रदेश सरकारले दिएका एम्बुलेन्स फिर्ता गरिसकेका छन्।