काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले संवैधानिक परिषद्लाई आफ्नो नियन्त्रणमा राख्ने उद्देश्यले जालझेल गरिरहेको आरोप लगाएका छन्।
बुधबार कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानन्यायाधीश नियुक्तिमा सरकारले आफूअनुकूल व्यक्तिलाई चयन गराउने प्रयास गरेको भन्दै आपत्ति जनाए। थापाले संवैधानिक परिषद्को बैठकमा बहुमतको आधार देखाएर पहिले नै तय गरिएको नामलाई पारित गराउने तयारी भइरहेको दाबी गरे। उनले यसलाई लोकतान्त्रिक प्रक्रियाविपरीत भएको टिप्पणी गरे। उनका अनुसार, पहिले पनि प्रधानमन्त्रीले आफ्नो निकट व्यक्तिलाई नियुक्त गर्न खोज्दा रोक्न सफल भए पनि अहिले अध्यादेशका कारण त्यसलाई रोक्न कठिन भएको छ। उनले वर्तमान प्रक्रियाप्रति कांग्रेसको आपत्ति र प्रश्न दुवै रहेको बताए।