काठमाडौँ । सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढाउन संवैधानिक परिषद्को बैठक आह्वान गरिएको छ । परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री बालेन शाहको निर्देशनमा परिषद् सचिवालयले भोलि बिहीबारका लागि बैठक बोलाएको हो ।
संवैधानिक परिषद्को सचिवालयले बुधबार जारी गरेको पत्रअनुसार बैठक २०८३ वैशाख २४ गते बिहीबार अपराह्न ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने तय भएको छ । बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको छ । लामो समयदेखि सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको स्थायी नियुक्ति हुन नसक्दा न्याय सम्पादनमा असर परेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्रीले यो कदम चालेका हुन् ।
विशेषतः राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा हिजो मंगलबार मात्रै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि प्रधानमन्त्री बालेनले परिषद्को बैठक बोलाउने बाटो खुलेको हो । उक्त अध्यादेशले परिषद्को बैठक बस्न र निर्णय प्रक्रियालाई सहज बनाउने विश्वास गरिएको छ ।
बैठकमा सहभागी हुनका लागि परिषद्का सदस्यहरूलाई पत्राचार गरिसकिएको छ । प्रधानमन्त्रीको कार्यालयका अनुसार बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधि सभामा विपक्षी दलका नेता भीमराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ ।
संवैधानिक व्यवस्थाअनुसार परिषद्ले सिफारिस गरेको नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ । भोलिको बैठकले वरिष्ठता र योग्यताका आधारमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशमध्येबाट एकजनाको नाम सिफारिस गर्ने प्रबल सम्भावना रहेको छ ।