धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कोटेसनमार्फत कुनै पनि कार्यक्रम कार्यान्वयन नगर्न कर्मचारीहरूलाई कडा निर्देशन दिएका छन् । आगामी नीति तथा कार्यक्रम र बजेटका बारेमा प्रदेश सभा सदस्यहरूसँग आयोजित छलफल कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन ।
मुख्यमन्त्री शाहले कोटेसनमार्फत योजना कार्यान्वयन गर्ने कर्मचारीलाई सरकारले कारबाही गर्ने चेतावनी समेत दिएका छन् । आगामी बजेटको तयारीमा रहेको सुदूरपश्चिम सरकारले साना योजनाहरूमा बजेट नछर्ने नीति लिएको छ। मुख्यमन्त्रीका अनुसार २५ लाख रुपैयाँभन्दा कम लागतका योजनामा सरकारले बजेट विनियोजन नगर्ने र कुनै पनि योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन नहुने स्पष्ट पारेका छन् ।
छलफलका क्रममा उनले प्रदेशभर समानुपातिक रूपमा बजेट वितरण गर्ने प्रतिबद्धता जनाउँदै बजेट निर्माण र कार्यान्वयनमा राजनीतिक दलको सहभागिता सुनिश्चित गर्न ’बजेट सुझाव समिति’ गठन गर्नुपर्नेमा जोड दिए । यस्तै, ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रलाई विशेष प्राथमिकता दिने योजना रहेको भन्दै सोही अनुसार कार्य गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्टलाई मुख्यमन्त्रीले निर्देशन दिएका छन् ।
-1777985447.jpg)