काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले शिक्षा क्षेत्र र कर्मचारीतन्त्रमा देखिएको बढ्दो दलगत प्रभावलाई अन्त्य गर्न सरकारले सुधारका कदम अघि सारेको बताएका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत उनले योग्यता र क्षमताभन्दा राजनीतिक पहुँचका आधारमा अवसर बाँडिने प्रवृत्तिले राज्य प्रणालीप्रति जनविश्वास कमजोर बनाएको टिप्पणी गरेका छन्। उनका अनुसार विद्यार्थी संगठन तथा कर्मचारी संरचनाहरू वर्षौंदेखि शिक्षाको गुणस्तर र सेवाभन्दा बढी दलगत स्वार्थका लागि प्रयोग हुँदै आएका छन्। उनले लेखेका छन्, ‘योग्यता र क्षमताभन्दा पहुँच र झण्डाको आधारमा अवसर दिइँदा प्रणाली नै कमजोर बन्दै गएको छ।’
प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षा र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने निर्णय संगठन विस्तारका लागि नभई प्रणाली सुधारका लागि गरिएको स्पष्ट पारेका छन्। उनका अनुसार नयाँ दलगत संगठन थपेर समस्या समाधान हुँदैन भन्ने विगतको अनुभवले देखाइसकेको छ। सरकारले अध्यादेशमार्फत शैक्षिक संस्था र कर्मचारीतन्त्रमा दलगत झण्डा र प्रभाव निषेध गर्ने नीति अघि बढाएको उनले जानकारी दिएका छन्। यसले पेशागत स्वतन्त्रता र संस्थागत मर्यादा बलियो बनाउने विश्वास सरकारको रहेको छ। प्रधानमन्त्री शाहले यो कदम कुनै दलविरुद्ध नभई राज्य संरचनालाई व्यवस्थित, पारदर्शी र सक्षम बनाउने प्रयास भएको उल्लेख गरेका छन्। उनका अनुसार अब नियुक्ति, सरुवा र बढुवाको आधार राजनीतिक निकटता नभई विधि, योग्यता र दक्षता हुनुपर्नेछ।