काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले काठमाडौं उपत्यकाभित्रका सुकुम्वासी बस्तीहरूको स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सरकारले हालै हटाएका बस्तीका नागरिकहरूको समस्या र पीडा बुझ्न एक हप्ताभित्र अनुगमनमा जाने निर्णय गरेको हो।
समिति सभापति समीक्षा बास्कोटाका अनुसार सुकुम्वासी बस्तीको वर्तमान अवस्थाबारे विस्तृत अध्ययन गर्न यो कदम चालिएको हो। “सुकुम्वासी बस्तीको विषयमा हामी अवस्था के छ भनेर अध्ययन तथा अनुगमन गर्न यही हप्ताभित्र काठमाडौं उपत्यकाभित्र जान सक्छौँ,“ उनले भनिन्।
सभापति बास्कोटाले उपत्यका बाहिरका बस्तीहरूमा जान बजेटको सीमितताका कारण तत्काल सम्भव नभए पनि काठमाडौं भित्रका क्षेत्रमा भने तत्कालै समिति पुग्ने जानकारी दिइन्। सरकारले पछिल्लो समय सुकुम्वासी बस्ती हटाउने प्रक्रिया सुरु गरेपछि संसदीय समितिले यसमा चासो देखाएको हो।