काठमाडौँ । समितिमा एजेण्डाबाहिरका विषय उठाउँदा प्रभावकारी छलफल हुन नसक्ने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बताएकी छन्। काठमाडौँमा बसेको प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले समितिमा उठाइने विषयहरू स्पष्ट रूपमा एजेण्डाभित्रै सीमित हुनुपर्नेमा जोड दिइन्।
उनका अनुसार समितिले सरकारलाई बोलाउनुको उद्देश्य सम्बन्धित विषयमा तयारीसहित स्पष्ट जवाफ लिनु हो। तर एजेण्डाबाहिरका प्रश्न उठ्दा छलफलको औचित्य र प्रभावकारिता कमजोर हुने उनले उल्लेख गरिन्। मन्त्री गौतमले सरकार सबै विषयमा स्पष्ट जवाफ दिन तयार भए पनि विषयवस्तु एजेण्डाभित्र भए काम गर्न अझ सहज हुने धारणा राखिन्। उनले समितिको कामलाई प्रभावकारी बनाउन बैठकअघि नै सदस्यहरूबीच समन्वय हुन आवश्यक रहेको बताइन्।
आकस्मिक रूपमा विषय उठाएर बिना तयारी छलफलमा सहभागी हुँदा प्रस्तुति प्रभावकारी नहुने उनको भनाइ थियो।उनले समितिमा अनुशासन कायम गर्नुपर्ने आवश्यकता पनि औंल्याउँदै सरकार र समिति सदस्य दुवैले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्नुपर्ने बताइन्। साथै, मन्त्रालय र संसदीय समितिहरू फरक–फरक कार्यक्षेत्रका आधारमा गठन भएकाले दुवैले आफ्नो(आफ्नो भूमिकाको स्पष्ट पालना गर्नुपर्नेमा उनले जोड दिइन्।