काठमाडौँ । धेरै मानिसहरू सर्प देख्ने बित्तिकै डराउने, भाग्ने वा मार्ने गर्छन् । तर मोरङको उर्लाबारीकी सम्झना राई भने यही डरलाई जित्दै सर्प र मानव दुवैको जीवन बचाउने अभियानमा सक्रिय रूपमा लागेकी छन् ।
सङ्खुवासभाको खाँदबारीमा जन्मिएकी सम्झना हाल उर्लाबारी–१ मा बसोबास गर्छिन् । पछिल्लो चार वर्षदेखि उनी निरन्तर सर्प उद्धार कार्यमा संलग्न छिन् । यस अवधिमा उनले करिब एक हजारभन्दा बढी सर्प सुरक्षित रूपमा उद्धार गरिसकेकी छन् । स्थानीय क्षेत्रमा सर्प देखिएपछि सबैभन्दा पहिले सम्झनालाई नै खबर गरिन्छ, र उनी निडर भएर उद्धारका लागि पुग्ने गर्छिन् । सामान्यतया सर्पलाई मानिसहरूले शत्रुका रूपमा हेर्ने गरे पनि सम्झनाको दृष्टिकोण फरक छ ।
उनी भन्छिन्, “सर्प हाम्रो शत्रु होइन, यो प्रकृतिको महत्वपूर्ण हिस्सा हो।” सर्प देख्ने बित्तिकै मार्ने प्रवृत्तिविरुद्ध उनी निरन्तर जनचेतना फैलाइरहेकी छन् । उनको यात्रा भने सहज थिएन । परिवारको चिन्ता, समाजको आलोचना र ‘महिलाले यस्तो काम गर्न सक्दैनन्’ भन्ने सोचका बीच पनि उनले आफ्नो लक्ष्य छोडिनन् । चितवनमा विशेष तालिम लिएपछि उनले विषालु र अविषालु सर्प छुट्याउने सीप हासिल गरिन्, जसले उनको कामलाई अझ सुरक्षित र प्रभावकारी बनाएको छ । हाल उनी उद्धारसँगै जनचेतना फैलाउने काममा पनि उत्तिकै सक्रिय छिन् ।
विद्यालय, समुदाय र विभिन्न कार्यक्रममार्फत सर्पबारे सही जानकारी दिँदै उनी भन्छिन्, “डरले होइन, ज्ञानले समस्या समाधान हुन्छ।” सम्झना मिडियामा पनि सक्रिय छिन् । उनले आफ्नै अनलाइन मिडिया सञ्चालन गर्दै सामाजिक मुद्दाहरू उजागर गर्ने काम गरिरहेकी छन् । पीडितलाई सहयोग गर्नेदेखि बिरामीको उपचारका लागि सहयोग जुटाउनेसम्मका कार्यमा उनको सक्रियता देखिन्छ । साहस, सेवा र सचेतनाको उदाहरण बनेकी सम्झना राई आज धेरैका लागि प्रेरणाको स्रोत बनेकी छन्।