काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन चीन प्रस्थान गरेकी छन्।
चीनको हपवे प्रदेशस्थित स्योङआनमा आयोजना हुने उक्त सम्मेलनमा सहभागी हुन उनी बुधबार चीनतर्फ प्रस्थान गरेकी हुन्। अक्टोबर २३ देखि २५ सम्म सञ्चालन हुने सम्मेलनको मुख्य विषयवस्तु ‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ रहेको छ। पूर्वराष्ट्रपति भण्डारीले सम्मेलनमा विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
सम्मेलनका क्रममा अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल तथा गोलमेच बैठक आयोजना गरिनेछ। कार्यक्रममा संयुक्त राष्ट्रसंघमा आधारित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति, शान्ति स्थापनाका लागि आवश्यक सुधार, बहुपक्षीय सहकार्यको प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय सम्बन्धमा विकासशील देशहरूको बढ्दो भूमिकाबारे छलफल हुनेछ।
त्यसैगरी अन्तर्राष्ट्रिय व्यापारमा ‘ग्लोबल साउथ’का देशहरूको भूमिका, जलवायु परिवर्तन र त्यसका प्रभाव, हरित तथा न्यून कार्बन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर स्पेसजस्ता विषय पनि सम्मेलनका छलफलका मुख्य क्षेत्र रहनेछन्। पूर्वराष्ट्रपति भण्डारी आगामी सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।