काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्वासी बस्ती हटाउने क्रममा पर्याप्त सूचना र समय नदिई हतारमा गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बस्ती हटाउँदा मानवीयता र व्यवहारिकता कायम गर्न नसकिएको टिप्पणी गरे। पर्याप्त तयारीबिना डोजर प्रयोग गर्नु गलत भएको उनको भनाइ थियो।
महामन्त्री पौडेलले सुकुम्वासी बस्तीमा ‘सुकुम्वासी नभई हुकुम्वासी मात्रै छन्’ भन्ने प्रचारलाई अस्वीकार गर्दै वास्तविक सुकुम्वासीको पहिचान गरी पुनर्स्थापनाको स्पष्ट योजना बनाएपछि मात्र हटाउने प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए।
पाल्पा क्षेत्र नम्बर १ बाट निर्वाचित कांग्रेस सांसद सन्दीप रानालाई बधाई दिन आयोजित कार्यक्रममा उनले वर्तमान सन्दर्भमा कांग्रेस सांसदहरूको जिम्मेवारी अझ बढेको उल्लेख गरे।