विराटनगर । कोशी प्रदेशका सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले पार्टीले कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको दलको नेताको जिम्मेवारीबाट हटाएकोमा विरोध गरेका छन् ।
उनले सिटौलालाई राष्ट्रिय सभाको दलको नेताबाट हटाउने निर्णय फिर्ता लिन समेत माग गरेका हुन् ।
मन्त्री पराजुलीले सिटौलालाई दलको नेताबाट हटाउने नेतृत्वको कदमलाई ‘अत्यन्त अनुचित र पार्टीको हितविपरीत’ भएको बताएका छन् ।
मन्त्री पराजुलीले वर्तमान संविधान निर्माणमा सिटौलाको भूमिका अतुलनीय रहेको स्मरण गराउँदै पार्टीका नयाँ वा पुराना सबै पुस्ताले सिटौलालाई सम्मान गर्नुपर्ने बताए ।
उनले भने, ‘लामो राजनीतिक योगदान, राष्ट्रिय राजनीतिमा देखाएको कुशल नेतृत्व र पार्टीको मूल्य–मान्यता जोगाउन सिटौलाजीले खेल्नुभएको कदर हुनुपर्छ । उहाँलाई हटाउने निर्णय तत्काल फिर्ता लिनुपर्छ ।’
मन्त्री पराजुलीले पछिल्लो समय कांग्रेसभित्र पुराना पुस्ताका नेताहरूलाई बेवास्ता गर्ने प्रवृत्ति हाबी हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै नीति र सिद्धान्त विपरीत रहेको टिप्पणी गरे ।
उनले भने, ‘देश, विदेश, भू–राजनीति पार्टीको आन्तरिक मर्म बुझेका योग्य नेताहरूलाई पाखा लगाउने नेपाली कांग्रेसको एकता र साख मात्र होइन, भविष्य पनि कमजोर बनाउँछ ।’
उनले कांग्रेसको गरिमा र सङ्गठनात्मक शक्ति जोगाउन पार्टी नेतृत्व र जिम्मेवार व्यक्तिहरू सचेत बन्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘सिटौलाजस्ता अनुभवी नेताको अपमानले पार्टीभित्र निराशा छाउने र त्यसले लोकतान्त्रिक आन्दोलनलाई नै घाटा पुग्नेछ ।’