काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुकुम्वासीलाई सरकारले युद्ध अपराधीजस्तो व्यवहार गरेको बताएका छन्। नेपाल ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै वास्तविक सुकुम्वासीको पहिचान नै नगरी डोजर लगाएकोप्रति आपत्ति जनाए।
उनले भने, ‘अहिले काठमाडौंका बस्तीमा डोजर चलिरहेको छ। नदिकिनारमा बसेका केही मान्छेहरू राज्यलाई ढाँट छल गरेर, बाहिर घरजग्गा भएका मानिसहरू पनि छन्। तीनलाई पहिचान गरेर दण्ड दिएर हटाउने व्यवस्था कानुनले नै सरकारलाई जिम्मेवारी दिइएको छ।’ उनले सरकारले कानुनको परिधिभित्र रहेर सुकुम्वासी व्यवस्थापन गर्नुपर्ने बताए।
यस्तै उनले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति आपत्ति जनाएका छन्। नेपाल ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले अध्यादेश ल्याउन पाउने भएपनि त्यसको प्रक्रिया हुने बताए। उनले भने, ‘यो त नयाँ काम गर्छु भनेर आएको छ, उसले कानुनले शासन गर्ने सोचिएको छ, मसँग कानुन बदल्ने अधिकार छ बदल्दिन्छु, ठोक्दिन्छु, हान्दिन्छु, मलाई चिन्ता लागिरहेको छ, जसरी काम भइरहेको छ यसले ठिक ठाउँमा लाँदैन।’
थापाले चुनावमा पराजय हुँदैमा चिन्ता लिएर बस्नु नहुने बताएका छन् । यो चुनाव हारे पनि अर्को चुनावमा कांग्रेसले कमब्याक गर्ने उनको भनाइ छ । थापाले आज एक कार्यक्रममा बोल्दै चुनाव हार्दैमा पार्टी नसकिने टिप्पणी गरे । आफूलाई धेरैले भेट्दा बर्बाद भयो, सकियो भन्दै चिन्ता जताउने गरेको गुनासो उनले पोखे ।